जीतपुर जेठ ११
अर्जुन चौधरी
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १८ स्थित कुस्माडी क्षेत्रमा आजदेखि शिवदत्त डिप ट्युबेल सिँचाइ आयोजना औपचारिक रूपमा सञ्चालनमा आएको छ।
उक्त सिँचाइ आयोजनाको उद्घाटन सिमरा उपमहानगरपालिकाका नगरप्रमुख श्री राजन पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले स्व. शिवदत्त चौधरीको सम्झनामा निर्माण गरिएको यस आयोजनाले किसानहरूको जीवनस्तर उकास्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले उत्पादनमा वृद्धि भई कृषिमा आत्मनिर्भरता आउन मद्दत पुग्ने बताउनुभयो।
उद्घाटन कार्यक्रममा स्व. चौधरीकी धर्मपत्नी रामकली चौधरीलाई नगरप्रमुखले दोसल्ला ओढाई सम्मान गर्दै स्व. चौधरीको योगदानको स्मरण गर्नुभयो।
करिब ६० बिघा खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको यस आयोजनाबाट स्थानीय किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष श्री चतुरबाबु वाग्ले, वडा नं. १७ का वडाध्यक्ष श्री भीम लामा, वडा सदस्य श्री अन्धिर चौधरी, उपभोक्ता समिति अध्यक्ष शिव ढुंगाना, साथै समाजसेवी, कृषक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजक समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।



