ग्रीनसिटी सामुदायिक प्रहरीले प्रहरी अधिकृतहरूलाई सम्मानपूर्वक बिदाई गर्दै “फेरि भेटौंला” कार्यक्रम सम्पन्न 

Spread the love

वीरगंज, ०२ कार्तिक।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरद्वारा प्रहरी प्रशासन र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले एक विशेष बिदाई तथा “फेरि भेटौंला” कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतलाई सम्मानपूर्वक बिदाई गरिएको थियो।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। कार्यक्रममा समाजसेवी, सामुदायिक अगुवा, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, आजीवन सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले तीनै जना प्रहरी निरीक्षकहरूको कार्यकुशलता, इमानदारी र जनताप्रतिको आत्मीय व्यवहारको प्रशंसा गर्दै उनीहरूले समुदायसँग सहकार्य गरी जनगुनासो समाधानमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरे। प्रहरी–नागरिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै धन्यवाद ज्ञापन गरिएको थियो।

विशेषगरी प्रहरी निरीक्षक निरोज चौलागाईंको कार्यकाललाई वक्ताहरूले “स्मरणीय र प्रेरणादायी” बताउँदै उहाँले सामुदायिक प्रहरी अवधारणालाई व्यवहारमा उतार्न उल्लेखनीय योगदान पुर्‍याएको जनाए। उहाँको नेतृत्वमा समुदाय र प्रहरीबीचको विश्वास र समन्वय बलियो बनेको भन्दै आभार व्यक्त गरिएको थियो।

कार्यक्रममा निरीक्षक चौलागाईंलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मानपूर्वक बिदाई गरिएको थियो। हालै उहाँको काठमाडौं अपराध महाशाखामा सरुवा भएको अवसरमा सबै उपस्थितले उहाँको भावी कार्य सफल र प्रगतिशील रहोस् भन्ने शुभकामना व्यक्त गरे।

अध्यक्ष खेतानले बिदाई मन्तव्यका क्रममा भने, “निरोज सरले जनताको समस्या आफ्नै समस्या ठानेर काम गर्नुभयो। उहाँले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ नजिक पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नुभयो,” भन्दै उहाँको योगदानको प्रशंसा गरे।

कार्यक्रमको अन्त्यमा प्रहरी निरीक्षक निरोज चौलागाईं, लोकराज भट्ट र श्याम बस्नेतले समुदायबाट प्राप्त स्नेह, सम्मान र साथप्रति हार्दिक आभार व्यक्त गर्दै भने, “समुदायको साथ र विश्वासले हामीलाई प्रेरित गरेको छ। हामी जहाँ भए पनि समाज र देशको हितका लागि समर्पित रहनेछौं।”

साँस्कृतिक प्रस्तुति र सामूहिक फोटोसेसनसँगै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Scroll to Top