नेकपा एमालेका नेता शिव पटेलद्वारा विद्यार्थीहरूलाई खानेपानीको बोतल वितरण

Spread the love

पर्सा , जेठ २७

बहुदरमाई नगरपालिका–४ स्थित ने.रा.मा.बी. डोकैला बहुवरीमा हालको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य तथा पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेलद्वारा विद्यार्थीहरूलाई खानेपानीको बोतल वितरण गरिएको छ।

गर्मीको चर्को असर विद्यार्थीहरूको स्वास्थ्यमा नपरोस् भन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा पानी बोतल प्रदान गरिएको हो। नेता पटेलले स्वच्छ पानीको अभावले बालबालिकाको शिक्षा र स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै विद्यालयस्तरमै यस्तो सहयोग गर्नु आवश्यक रहेको बताए।

उनले भने, “विद्यार्थीहरू राष्ट्रका भविष्य हुन्। उनीहरूको सशक्त शारीरिक अवस्था र सकारात्मक शैक्षिक वातावरणको सुनिश्चितता हामी सबैको साझा जिम्मेवारी हो।”

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, अभिभावक प्रतिनिधि, विद्यार्थीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नेता पटेलको यो पहलको प्रशंसा गर्दै यसले अन्य सामाजिक तथा राजनीतिक अगुवाहरूलाई पनि समुदायमैत्री कार्यमा प्रेरणा दिने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिले यस्तो सहयोगलाई धन्यवाद दिंदै आगामी दिनमा पनि शिक्षा तथा विद्यार्थी हितका कार्यक्रमहरूमा सहयोगको अपेक्षा गरेको जनाएको छ।

Scroll to Top