वीरगञ्ज, २७ माघ
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज पर्साको पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात नीतिगत रूपमा काम गर्दै पर्सा जिल्लाको समग्र विकासका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कानुले पर्सा जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार अपरिहार्य रहेको बताए। वैदेशिक लगानी भित्र्याई जिल्लाभित्रै रोजगारीका अवसर सृजना गर्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो।
त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको उल्लेख गर्दै पहुँचयोग्य र प्रभावकारी सेवा सुनिश्चित गर्न नीतिगत पहल गरिने उनले बताए। पर्सागढी क्षेत्रमा उत्पादन हुने तरकारी तथा अन्य कृषिजन्य उत्पादनलाई वीरगञ्जसहित देशका विभिन्न बजारसम्म सहज रूपमा पुर्याउने व्यवस्था मिलाउने विषय पनि आफ्नो प्राथमिकतामा रहेको कानुले जानकारी दिए।
घरदैलो कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, आवश्यकता तथा अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए। सो अवसरमा उम्मेदवार कानुले स्थानीय सुझावलाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्यदिशामा समेट्ने प्रतिबद्धता जनाए।
स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत रास्वपाले विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राख्दै जनतासँग प्रत्यक्ष संवाद गर्दै चुनावी अभियानलाई थप तीव्र बनाउँदै लगेको छ।


