रोयल एकेडेमीद्वारा ‘रोयल इङ्ग्लिस कम्युनिटी’को औपचारिक उद्घाटन

Spread the love

वीरगञ्ज , फाल्गुन १७

विद्यार्थीहरूको अंग्रेजी भाषिक क्षमता अभिवृद्धि गर्दै आत्मविश्वासी तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ रोयल एकेडेमी ले आज ‘रोयल इङ्ग्लिस कम्युनिटी (Royal English Community – REC)’ को औपचारिक उद्घाटन गरेको छ।

उद्घाटन समारोहमा वीरगञ्ज महानगरपालिकाको शिक्षा प्रशासन विभागका शिक्षा अधिकृत आनन्द लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा NELTA Birgunj का अध्यक्ष तथा प्रख्यात अंग्रेजी भाषा शिक्षाविद् सन्तोष कर्ण को सहभागिता रहेको थियो।

समारोहमा विद्यालयकी निर्देशिका सबनम श्रेष्ठ, प्रधानाध्यापक विजया ओझैया तथा सह–प्रधानाध्यापक सुमन श्रेष्ठलगायत शिक्षक–शिक्षिका र विद्यार्थीहरूको गरिमामय उपस्थिति रहेको थियो।

विद्यालयका अनुसार, रोयल इङ्ग्लिस कम्युनिटीको स्थापना विद्यार्थीहरूमा अंग्रेजी भाषाको प्रयोगात्मक दक्षता विकास गर्ने उद्देश्यले गरिएको हो। यस कम्युनिटीमार्फत वादविवाद, सार्वजनिक भाषण, सृजनात्मक लेखन, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिनेछ।

प्रधानाध्यापक विजया ओझैयाले कम्युनिटीमार्फत विद्यार्थीहरूको बोल्ने, लेख्ने, नेतृत्व तथा समालोचनात्मक सोच क्षमतामा निखार ल्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो। निर्देशिका सबनम श्रेष्ठले अंग्रेजी भाषालाई केवल विषयका रूपमा नभई अवसर, अभिव्यक्ति र नेतृत्वको माध्यमका रूपमा विकास गर्ने दृष्टिकोण रहेको बताउनुभयो।

सह–प्रधानाध्यापक सुमन श्रेष्ठले आगामी दिनहरूमा अंग्रेजी मात्र नभई विज्ञान, प्रविधि, कला तथा नेतृत्वसम्बन्धी विभिन्न कम्युनिटीहरू स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो। यस पहलमार्फत रोयल एकेडेमीले शैक्षिक उत्कृष्टतासँगै सर्वाङ्गीण विकासमा आधारित शिक्षा प्रणालीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

Scroll to Top