वीरगञ्ज, जेष्ठ २५
साउथ जोन माध्यमिक विद्यालय, वीरगञ्ज–१३ राधेमाईले आफ्ना विद्यार्थीहरूको सुरक्षा तथा अभिभावकको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
विद्यालयले Neco Insurance Limited सँगको सहकार्यमा विद्यालयमा अध्ययनरत करिब १,८२५ विद्यार्थीका लागि रु. १ लाख बराबरको दुर्घटना बीमा र रु. ३,५०० बराबरको स्वास्थ्य बीमा व्यवस्था गरेको जनाएको छ। यससँगै प्रत्येक विद्यार्थीले कुल रु. १ लाख ३ हजार ५ सय बराबरको बीमा सुरक्षा प्राप्त गर्नेछन्।
सहायक प्रधानाध्यापक अशोक संग्रौलाका अनुसार चालु शैक्षिक सत्रदेखि लागू गरिएको यो बीमा योजना विद्यार्थीलाई सुरक्षित शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। २४ घण्टा प्रभावकारी रहने उक्त बीमा सुविधाले विद्यालय, घर, बाटो, खेलकुद तथा अन्य दैनिक गतिविधिका क्रममा हुन सक्ने दुर्घटनालाई समेत समेट्नेछ।
विद्यालय प्रशासनका अनुसार कुनै विद्यार्थी दुर्घटनामा परेमा उपचार खर्चका लागि वार्षिक अधिकतम रु. १ लाखसम्म दाबी गर्न सकिनेछ। साथै विद्यालय आउजाउ गर्ने क्रममा, घरमा खेल्ने बेला वा अन्य सामान्य गतिविधिका दौरान हुने दुर्घटनामा प्रति घटनामा अधिकतम रु. २५ हजारसम्म राहत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विद्यार्थी सामान्य बिरामी परेको अवस्थामा चिकित्सकीय परामर्श, ओपीडी टिकट तथा औषधोपचार खर्च वापत वार्षिक अधिकतम रु. ३,५०० सम्मको सुविधा उपलब्ध हुनेछ।
विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले यस योजनाले अभिभावकको आर्थिक भार कम गर्नुका साथै विद्यार्थीलाई थप सुरक्षित र निश्चिन्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थी कल्याण र गुणस्तरीय शिक्षाप्रति विद्यालयको प्रतिबद्धताको रूपमा यस कार्यक्रमलाई लिएको बताए।
विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षासँगै सुरक्षालाई प्राथमिकता दिने आधुनिक शैक्षिक अभ्यासलाई थप सुदृढ बनाउने जनाएको छ।



