बीरगंज , श्रावण २१
विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागले बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। “जीवनको दिगो सुरुवातका लागि स्तनपान: प्रभावकारी अभ्यासहरूलाई सुदृढ बनाऔँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन अस्पतालकी निर्देशक डा. इशरत जहानले गरेकी थिइन्।
कार्यक्रममा शैक्षिक खेलौना तथा विश्व स्तनपान सप्ताहसम्बन्धी विभिन्न पोस्टर प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलमार्फत सिकाइको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो। त्यसैगरी, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ शारीरिक र मानसिक विकासमा स्तनपानको महत्त्वबारे जनचेतना प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ जना विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मक सोच तथा बाल विकासका विविध पक्षबारे जानकारी हासिल गरेका थिए।
यस अवसरमा मातृ–शिशु सम्बन्धलाई थप सुदृढ बनाउन नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम पनि वितरण गरिएको थियो। यसले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ। नर्सिङ विभागले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, चिकित्सक तथा कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र आमाहरूलाई धन्यवाद ज्ञापन गरेको छ। अस्पतालका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले स्तनपानको महत्त्वबारे समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बाल स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।