बीरगञ्ज , फाल्गुन ६
नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ का रानीघाट, श्रीपुर, बहुवरीलगायत क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफूले विगतमा निर्वाह गरेका जिम्मेवारी र योगदानबारे जानकारी गराएका थिए। उनले आफू सांसद तथा मन्त्री पदमा रहँदा क्षेत्रमा भएका विकास निर्माणका कार्यहरू स्मरण गराउँदै मतदातासँग विगत र वर्तमानको तुलना गर्न आग्रह गरे।
“१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्,” यादवले भने, “सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको अवस्था कस्तो थियो ? आज भएका परिवर्तनहरू तपाईँहरूले आफ्नै आँखाले देख्नुभएको छ।”
यादवले आफू क्षेत्रको हरेक टोल, समस्या र समाधानबारे जानकार उम्मेदवार भएको दाबी गर्दै अन्य उम्मेदवारहरूलाई स्थानीय भूगोलसमेत थाहा नहुन सक्ने टिप्पणी गरे। उनले सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै राष्ट्रियता, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकास एमालेको मुख्य एजेन्डा रहेको बताए।
पूर्व मन्त्रीसमेत रहेका यादवले चुनावी समयमा मात्र देखिने उम्मेदवारप्रति सचेत रहन आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मात्र मत माग्न आउनेहरूले दिगो विकास गर्न सक्दैनन्। म सधैँ जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले एमालेको गरिबी निवारण, रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणका नीतिलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएको दाबी पनि गरे।
कार्यक्रममा निर्मला देवकोटा, अरविन्द सिंह, सुन्दर कुर्मी लगायत नेताहरूको उपस्थिति रहेको थियो।


