वीरगञ्ज , पौष ३०
बीरगञ्ज महानगरपालिकाको आयोजनामा रानीघाटमा अवस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालयमा आत्मरक्षा सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ। विद्यालयका करिब २०० जना छात्र तथा छात्राले सहभागीता जनाएको उक्त तालिम विद्यालयकै प्राङ्गणमा सञ्चालन गरिएको थियो।

तालिममा राष्ट्रिय खेलाडी अस्मिता धरेल र रविकिषण यादवले प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई आकस्मिक अवस्था तथा सम्भावित जोखिमका समयमा आफूलाई कसरी सुरक्षित राख्ने, आत्मरक्षाका आधारभूत सीपहरू र व्यवहारिक अभ्यास गराएका थिए।

विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त उपयोगी रहेको सहभागीहरूले बताएका छन्।
बीरगञ्ज महानगरपालिकाले आगामी दिनमा वीरगञ्जका विभिन्न विद्यालयहरूमा यस्तै प्रकारका आत्मरक्षा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।



