रिमा कुमारी यादवद्वारा पर्सागढी–१ मा घरदैलो, विकास र सुशासनको प्रतिबद्धता

Spread the love

बीरगञ्ज , फाल्गुन ५

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव ले मंगलबार पर्सागढी नगरपालिका–१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। चुनावी अभियानलाई तीव्र बनाउँदै उनले वडा नम्बर–१ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा आशीर्वाद लिएकी हुन्।

घरदैलो कार्यक्रमको सुरुवात स्थानीय धार्मिक आस्थाको केन्द्र कोईलाभार मन्दिरमा पूजा–अर्चनाबाट गरिएको थियो। त्यसपछि उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिएकी थिइन्।

घरदैलोका क्रममा स्थानीय मतदाताले ढाका टोपी लगाइदिएर, दुवोको माला तथा खादा ओढाएर उम्मेदवार यादवको भव्य स्वागत गरेका थिए। कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना व्यक्त गरेका थिए। भेटघाटका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका विषयमा आफ्ना समस्या तथा सुझाव राखेका थिए।

उम्मेदवार यादवले आफू निर्वाचित भएमा पर्सागढी क्षेत्रमा आधारभूत पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, महिला तथा युवाका लागि रोजगारी सिर्जना र कृषकलाई सहज बजार व्यवस्था प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्। जनताको विश्वास र साथ पाएमा भ्रष्टाचाररहित, पारदर्शी र जनउत्तरदायी नेतृत्व प्रदान गर्ने उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि, समाजसेवी र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै पार्टीका स्थानीय नेताहरूले रिमा यादव इमानदार, कर्मठ र विकासप्रेमी उम्मेदवार भएको उल्लेख गर्दै उनलाई विजयी गराउन सबै एकजुट हुन आग्रह गरे।

पछिल्ला दिनहरूमा पर्सा जिल्ला का विभिन्न गाउँ–टोलमा रिमा यादवको घरदैलो अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको पार्टीले जनाएको छ।

Scroll to Top