वीरगञ्ज। राधेमाई कुस्ती अखडाको दयनीय अवस्थाका कारण वर्षायाममा खेलाडीहरूले नियमित अभ्यास गर्न नसक्ने समस्या झेलिरहेका छन्। अखडामा पानी जम्ने भएकाले वर्षा भएपछि १० देखि १५ दिनसम्म प्रशिक्षण नै बन्द हुने अवस्था रहेको खेलाडीहरूले बताएका छन्।

खेलाडीहरूका अनुसार अभ्यास लामो समय रोकिँदा उनीहरूको लय बिग्रिने, प्रतियोगिताको तयारी प्रभावित हुने तथा भविष्य निर्माणमा ठूलो असर पर्ने गरेको छ।

उनीहरूले अखडाको अवस्था सुधारका लागि विभिन्न समयमा नेता तथा मन्त्रीहरूले अनुगमन गरे पनि अहिलेसम्म सुधारका लागि कुनै ठोस काम नभएको गुनासो गरेका छन्। “गर्छौं” भन्ने आश्वासन धेरै पटक प्राप्त भए पनि व्यवहारमा कुनै परिवर्तन नआएको उनीहरूको भनाइ छ।

खेलाडीहरूले केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार तीनै तहका निकायको ध्यान अझैसम्म अखडाको व्यवस्थापनमा नपुगेको आरोप लगाएका छन्। आधारभूत पूर्वाधारको अभावका बीच पनि आफूहरू खेलकुदमा भविष्य बनाउन निरन्तर संघर्ष गरिरहेको उनीहरूको भनाइ छ।

राधेमाई कुस्ती अखडाका खेलाडीहरूले सम्बन्धित निकायसँग अखडाको स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा नियमित अभ्यासका लागि उपयुक्त वातावरण तत्काल सुनिश्चित गर्न आग्रह गरेका छन्। उनीहरूले खेलाडीहरूको भविष्यसँग जोडिएको यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित सबै निकायलाई अनुरोध गरेका छन्।

Share.
Leave A Reply

Exit mobile version