वीरगंज, २४ असोज
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, पर्साको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी र समुदायबीचको आपसी समन्वय, सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, वडा प्रहरी कार्यालय पर्साका प्रमुख निरोज चौलागाईं, नेपाल इनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई, साथै केन्द्रका आजीवन सदस्यहरू, पदाधिकारीहरू र स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा अध्यक्ष खेतानले प्रहरी उपरीक्षक पाठकलाई फूलमाला र खादा लगाएर स्वागत गर्नुभयो। उहाँले ग्रीनसिटी क्षेत्रमा शान्ति, सुरक्षा र अपराधमुक्त वातावरण कायम गर्न प्रहरीको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समुदाय र प्रहरीबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रहरी उपरीक्षक सुदिप राज पाठकले पनि सामुदायिक सहयोगकै कारण पछिल्ला दिनमा पर्सा जिल्लामा आपराधिक गतिविधिमा कमी आएको बताउँदै, समुदायको सुझाव र सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो।कार्यक्रमको अन्त्यमा केन्द्रका पदाधिकारीहरूले उपस्थित अतिथिहरूलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।



