शिक्षक आन्दोलन यथावत्, प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन

Spread the love

काठमाडौं, वैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको दुई घण्टा लामो वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलनरत शिक्षकहरूले आफ्ना संघर्षका कार्यक्रम यथावत् राख्ने बताएका छन्।

शुक्रबार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र शिक्षक महासंघका प्रतिनिधिहरूबीच छलफल भए पनि शिक्षा ऐनको विषयमा ठोस सहमति हुन नसकेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

वार्तापछि सभामुख देवराज घिमिरेसँग पनि शिक्षक टोलीको छलफल भएको थियो। तर, शिक्षा ऐन कहिले ल्याइने भन्नेमा सरकारले स्पष्टता नदिएको भन्दै आन्दोलन जारी राख्ने निर्णय भएको सुवेदीले बताए।

“प्रधानमन्त्रीले हाम्रा मागप्रति सकारात्मक धारणा राख्नुभयो, तर संसदको बर्खे अधिवेशनमार्फत मात्र ऐन ल्याउने भनिएको छ,” सुवेदीले भने, “शिक्षा ऐन सार्वजनिक नभएसम्म हामी विद्यालय नफर्किने अडानमै छौं।”

सरकारले आउँदो वैशाख १२ गतेदेखि सुरु हुने संसद अधिवेशनमा शिक्षा ऐन ल्याउने तयारी गरिरहेको जनाएको छ। यद्यपि, शिक्षकहरू भने कानुनी प्रक्रिया टुंगोमा नपुन्जेलसम्म आन्दोलन जारी राख्ने अडानमा छन्।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका विद्यालयहरू प्रभावित भएका छन्। शिक्षाका विज्ञहरूले चाँडोभन्दा चाँडो समस्या समाधान गर्न सरकार र शिक्षक दुवै पक्षलाई आग्रह गरेका छन्।

Scroll to Top