निजी विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाइने : गृहमन्त्री लेखक

Spread the love

बीरगंज, १५ भदौ 


गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन नहुने स्पष्ट पार्नुभएको छ। उहाँले प्रतिनिधिसभामा पेश भएको शिक्षा विधेयकमा रहेको उक्त प्रावधान हटाइने जानकारी दिनुभयो।

आईतबार बीरगंजमा आयोजित कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै सुनुवाइको मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। सो अवसरमा मन्त्री लेखकले निजी क्षेत्रका विद्यालयलाई कमजोर बनाउने वा समाप्त गर्ने कुनै योजना नरहेको दोहोर्याउँदै भन्नुभयो, “निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने भन्ने व्यवस्था हटाइन्छ। यसबारे कुनै द्विविधा छैन, मन्त्रिपरिषद्मा पनि यसबारे छलफल भइसकेको छ।”

उहाँले सरकारी विद्यालयलाई सक्षम बनाउँदै सबैलाई निःशुल्क शिक्षा दिने लक्ष्य सरकारको रहेको बताउँदै, इच्छुक अभिभावकलाई भने आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने विकल्प खुला रहने स्पष्ट पार्नुभयो।

ज्ञापनपत्र बुझाउने टोलीमा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, नगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सदस्य विजय बल, एन-प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर, सन्नी दूबे लगायत सहभागी थिए।

सञ्चालकहरूले शिक्षा विधेयकमा निजी विद्यालयलाई कमजोर बनाउने गरी राखिएका बुँदा संशोधन गरी मात्र प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

Scroll to Top