मुनलाईट विद्यालय वीरगञ्जमा म्याथ ल्याब स्थापना: शिक्षामा नयाँ आयामको सुरुवात

Spread the love

वीरगञ्ज, ११ जेठ

वीरगञ्ज महानगरपालिका–१० कुम्हालटोलमा अवस्थित मुनलाईट विद्यालयले आधुनिक गणित प्रयोगशाला (म्याथ ल्याब) स्थापना गरेको छ। विद्यार्थीहरूलाई गणित विषयलाई व्यवहारिक र प्रयोगात्मक तरिकाले सिकाउने उद्देश्यका साथ यो ल्याबको स्थापना गरिएको हो, जसले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।


विद्यालयका प्रबन्ध निर्देशक शुल्भ के.सी.ले म्याथ ल्याबको औपचारिक घोषणा गर्दै भने, “गणितलाई परम्परागत रूपमा धेरै विद्यार्थीका लागि जटिल विषय मानिन्छ। अब हामीले प्रयोगात्मक र दृश्यात्मक माध्यममार्फत सिकाउने विधिलाई अपनाएका छौँ। यसले गर्दा विद्यार्थीहरूमा गणितप्रतिको डर हट्नेछ र सिकाइ अझ रमाइलो हुनेछ।”


एम्स ल्याबको प्रविधि र सहयोग


यो म्याथ ल्याब काठमाडौंस्थित शैक्षिक प्रविधिमा आधारित संस्था ‘एम्स ल्याब’ को सहकार्यमा स्थापना गरिएको हो। एम्स ल्याबले विद्यालयलाई आधुनिक प्रविधि, शिक्षण उपकरण र कार्यशालामार्फत पूर्ण सहयोग प्रदान गरेको छ। ल्याबमा गणितका विभिन्न अवधारणालाई बुझाउने मोडलहरू, खेल तथा सामग्रीहरू समावेश गरिएका छन्, जसले गणितीय सोच र समस्या समाधान गर्ने क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो पहलले वीरगञ्जको शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको छ।

Scroll to Top