वीरगञ्ज ।

 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले पर्सा जिल्लास्तरीय अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता शुक्रबार आयोजना गर्ने भएको छ।

प्याब्सनसँग आबद्ध ३५ वटा निजी विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने प्रतियोगिता वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा बिहान १० बजेदेखि सुरु हुने भएको हो।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको कलात्मक क्षमतालाई प्रोत्साहन गर्नुका साथै राम्रो हस्तलेखनको महत्वबारे जागरुकता बढाउनु रहेको छ। डिजिटल प्रविधिको प्रभाव बढिरहेको वर्तमान समयमा पनि हस्तलेखनले विद्यार्थीको एकाग्रता, अनुशासन र सिर्जनशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा समन्वयको जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीलाई दिइएको छ। प्रतियोगिता समूहगत रूपमा सञ्चालन गरिने जानकारी दिँदै उनले आर्ट विधातर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई ६ समूहमा तथा ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने बताए।

निष्पक्ष र विश्वसनीय मूल्याङ्कन सुनिश्चित गर्न काठमाडौँबाट अनुभवी निर्णायक मण्डल आमन्त्रण गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड र प्रमाणपत्रसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ।

यस प्रतियोगिताले पर्सा जिल्लाका निजी विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक योगदान पुर्‍याउने आयोजक संस्थाले विश्वास व्यक्त गरेको छ।

Share.
Leave A Reply

Exit mobile version