वीरगन्ज, साउन २५
नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीले हाल महानगरका विभिन्न वडामा भइरहेको डिप बोरिङ जडानमा अनियमितता बढेको भन्दै तत्काल रोक लगाउन माग गरेको छ।
एमाले मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगन्ज महानगर इन्चार्ज बिचारी यादवको नेतृत्वमा वडाध्यक्षहरूको टोलीले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर ध्यानाकर्षण गराएको हो।
टोलीमा एमाले महानगर उपाध्यक्ष एवं वडा नं. १८ का अध्यक्ष रामकिशोर सिंह (पराग) लगायत निर्वाचित वडाध्यक्षहरूको सहभागिता थियो।
सिंहका अनुसार, विपद्को समयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वीरगन्जले स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय नगरी बोरिङ जडान गरिरहेको छ, जसका कारण अनावश्यक विवाद र समस्या उत्पन्न भएको छ। हालसम्म भएका जडानका तथ्यांक र अनुमानित लागत विवरण (इस्टिमेट) पनि नदिएको गुनासो टोलीले पीडिओ समक्ष राखेको छ।
टोलीले दुई दिनभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गर्दै, माग पूरा नभएमा लिखित सूचना दिने र त्यसपश्चात कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ।
महानगर इन्चार्ज यादवले संघीय सरकारबाट भइरहेको बोरिङ जडान आवश्यकता अनुसार नभई हचुवाका आधारमा भइरहेको आरोप लगाए। उनले भने, “मन्त्रीका कार्यकर्ताको घर अगाडि मात्र बोरिङ जडान भएको छ, तर जहाँ अत्यावश्यक छ, त्यहाँ काम भएको छैन।”
ध्यानाकर्षण कार्यक्रममा वडाध्यक्षहरू प्रदीप चौरसिया, सुरेश साह कानु, विजय प्रसाद कुर्मी, संजु छतकुली, जितेन्द्र यादव, हिरा गिरि, अवधकिशोर कुशवाहा लगायतको उपस्थिति थियो।



