शिक्षकको राजनीति गतिविधिमा निगरानी, संलग्न भए कारबाही !

Spread the love

वीरगञ्ज । सरकारले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्ने भएको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ लगायत सम्बन्धित निकायलाई निगरानी गर्न र राजनीतिमा संलग्न रहेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिन थालेपछि शिक्षामन्त्री पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका हुन्। 

राजनीतिक दल सम्बन्धी ऐन २०७३, निजामती सेवा ऐन, शिक्षा ऐनमा सरकारी सेवामा संलग्न हुने कर्मचारीसम्बन्धी विभिन्न ऐनमा सार्वजनिक दलमा बहाल रहेका व्यक्तिहरूले राजनीतिमा भाग लिन नपाइने प्रावधान छ।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ, को उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने व्यवस्था रहेको छ। तर यो नियमलाई उल्लंघन गर्दै शिक्षकहरू पार्टीको कार्यक्रममा जाने गरेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइहरूले पनि निगरानी गर्न र राजनीतिमा लागेका शिक्षकहरूलाई कारबाही गर्न स्थानीय तहलाई पत्रचार नै गरेर निर्देशन दिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनानुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।

पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए/नभएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ।

एकाइले प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत कुनै शिक्षकका गतिविधि पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्नसमेत एकाइले स्थानीय तहहरूलाई आग्रह गरेको छ।

यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।

एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ।

एकाइ प्रमुख तथा उपसचिव दिनेशप्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चारजना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ। पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख छ।

उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ।

कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ।

Scroll to Top