बीरगञ्ज, असार २१ 

 साउथ जोन सेकेन्ड्री स्कुल, बीरगञ्जका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरूले शैक्षिक भ्रमण तथा अवलोकनको क्रममा जिराभवानी गाउँपालिका–१ मा अवस्थित बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरमा पुगेर धार्मिक स्थलको अवलोकन गरेका छन्।

बढ्दो गर्मीलाई ध्यानमा राख्दै तथा मन्दिरमा आउने भक्तजन र दर्शनार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीहरूले मन्दिर परिसरमा पाँच थान सिलिङ पंखा जडान गर्ने पहल गरेका हुन्।

एक सानो कार्यक्रमबीच कक्षाका शिक्षक अर्जुन चौधरी तथा विद्यार्थीहरूद्वारा मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई ती पंखा हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा जिराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारू, पत्रकार हरिकिशोर शर्मा, तथा अन्य स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूद्वारा सामाजिक उत्तरदायित्व र धार्मिक स्थलप्रतिको संवेदनशीलतालाई प्रशंसनीय भन्दै आगामी दिनमा यस्ता क्रियाकलाप निरन्तर रहोस् भन्ने कामना व्यक्त गरे।

Share.
Leave A Reply

Exit mobile version