वीरगंज महानगर र होटल व्यवसायीबीच व्यवसाय दर्ता, कर र पर्यटन प्रवर्द्धनमा छलफल

Spread the love

वीरगंज, २४ बैशाख

वीरगंज महानगरपालिकाले बुधबार होटल व्यवसायीसँग व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास र यहाँको पर्यटन प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरेको छ। छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महानगर क्षेत्रभित्रका सम्पूर्ण होटल व्यवसाय अनिवार्य रुपमा दर्ता गरेर मात्र सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँले व्यवसायमैत्री वातावरण बनाउन करको दायरा विस्तार गर्ने तर दर यथोचित बनाइने स्पष्ट पार्दै व्यवसायीहरूलाई सहजता दिने नीति महानगरले लिएको बताउनुभयो।

उहाँले घरबहाल र सम्पत्ति कर समयमै तिर्न व्यवसायीहरूको सहकार्य आवश्यक रहेको औँल्याउँदै शहरी सौन्दर्यकरण र पार्क निर्माणका कामहरूले पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै, ‘एकद्वार सेवा प्रणाली’ मार्फत व्यवसाय दर्ता, कर र सेवाहरू डिजिटल बनाउन लागिएको जानकारी दिनुभयो।

होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले व्यवसायीहरू कानुनी रूपमा दर्ता भएर व्यवसाय सञ्चालन गर्न तयार रहेको तर दर्ता प्रक्रिया सरल र छिटो बनाउन आग्रह गर्नुभयो। उहाँले पर्यटन प्रवर्द्धनमा सांस्कृतिक कार्यक्रम, मेलामहोत्सव र गन्तव्य प्रवर्द्धनका गतिविधि आवश्यक रहेकोमा जोड दिनुभयो। होटल व्यवसायी माधव वस्नेतले दर्ता, कर प्रणाली र नक्सापास प्रक्रियामा रहेका व्यवहारिक जटिलता हटाउन माग गर्नुभयो।

छलफलमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजस्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरव झा तथा होटल व्यवसायीहरूको सहभागिता थियो।

Scroll to Top