छात्र द्रोण चौधरी उपेक्षित : जीतपुर सिमरा उपमहानगरपालिकाको चासोको अभाव

Spread the love

वैशाख ३१

अर्जुन चौधरी

गणितको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गर्ने अवसर पाएका एक प्रतिभाशाली विद्यार्थीलाई स्थानीय तहबाट अपेक्षित सहयोग नपाइएको गुनासो उठेको छ। 

जीतपुर सिमरा उपमहानगरपालिका–१२ फत्तेपुरका निवासी द्रोन चौधरीले गत वर्ष बेलायतको लण्डनमा आयोजित International Mathematical Olympiad (IMO) 2024 मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाए पनि नगरपालिकाबाट कुनै सहयोग वा सम्मान प्राप्त गर्न सकेनन्।

यो वर्ष पनि चौधरीले आफ्नो प्रतिभा र परिश्रमद्वारा IMO 2025, जुन अष्ट्रेलियामा आयोजना हुँदैछ, का लागि नेपाल प्रतिनिधिको रूपमा छनौट भइसकेका छन्। तर, विडम्बना यसपटक पनि जीतपुर सिमरा उपमहानगरपालिकाले अहिलेसम्म कुनै चासो देखाएको छैन।

“गणितमा मेरो लगाव बाल्यकालदेखि नै थियो। IMO मा छनोट हुनु मेरा लागि मात्र नभई सिङ्गो देशका लागि गर्वको कुरा हो। तर जब आफ्नो स्थानीय सरकारबाट नै सहयोग र प्रेरणा नपाउँदा मन दुख्छ,” चौधरीले भने।

स्थानीय बासिन्दाहरूले पनि चौधरीप्रति उपमहानगरपालिकाको बेवास्तापूर्ण व्यवहारप्रति गहिरो असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा, यस्तो अन्तर्राष्ट्रिय स्तरको उपलब्धिलाई प्रोत्साहन नगर्दा भविष्यमा अन्य विद्यार्थीहरूमा निराशा फैलन सक्छ।

“हाम्रा छोराछोरीले जुनसुकै क्षेत्रमा अब्बलता देखाए पनि यदि स्थानीय निकायबाट चासो र समर्थन नआयो भने, उनीहरूको आत्मबल कमजोर हुनसक्छ। यो हामी सबैका लागि चिन्ताको विषय हो,” द्रोण चौधरीका बुवा योगेश चौधरीले बताए।

द्रोण चौधरीले IMO 2025 मा सहभागी हुन आर्थिक, प्रविधि तथा मनोबलका हिसाबले सहयोग आवश्यक पर्ने बताएका छन्। यस्तो अवस्थामा, संघीय सरकार वा निजी क्षेत्रबाट सहयोगको आशा गरिएको छ।

यो घटनाले नेपालका होनहार विद्यार्थीहरूलाई स्थानीय तहको नीति र व्यवहारले कसरी असर पारिरहेको छ भन्ने गम्भीर सन्देश दिएको छ। यस्तो अवस्थामा नीतिनिर्माताहरूले बेलैमा सजगता अपनाउनु आवश्यक देखिन्छ।

सम्बन्धित निकाय र उपमहानगरपालिकाले अब पनि ध्यान दिएर आवश्यक समर्थन गरिदिए, द्रोन चौधरीजस्ता विद्यार्थीहरूले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा अझै गौरवका साथ चम्काउन सक्छन्।

Scroll to Top