वीरगञ्जमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न, प्रहरीहरूलाई जैन गुरुहरूको मार्गदर्शन

Spread the love

वीरगञ्ज जेठ १

अर्जुन चौधरी

वीरगञ्ज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय विर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा तथा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगञ्जको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टलगायत विभिन्न प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा जैन धर्म गुरुहरूको मार्गदर्शनमा तनाव व्यवस्थापनका विविध पक्षहरूबारे व्याख्यान तथा अभ्यास गराइएको थियो। दैनिक कार्यदबाब, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र ड्युटीको दबाबका कारण उत्पन्न मानसिक तनाव कसरी व्यवस्थापन गर्ने भन्नेबारे गुरुहरूले प्रभावकारी ढंगले प्रशिक्षण दिएका थिए।

सहभागी प्रहरी कर्मचारीहरूले यस्ता मानसिक स्वास्थ्य केन्द्रित तालिमले आफ्नो पेशागत जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया जनाएका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमले प्रहरीहरूको मानसिक सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

Scroll to Top