पर्सा, विश्रामपुर
जेठ २
विश्रामपुर गाउँपालिका वार्ड नं १ स्थित कैलालपुर टोलमा आज बिहान आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी लक्ष्मण मुखिया र टेकमण मुखियाको घरमा भएको हो।
स्थानीय बासिन्दाका अनुसार आगलागी शुभआमा पूजाको क्रममा भएको हो। आगो लागेपछि गाउँका बासिन्दा, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीको सहयोगमा तत्कालै आगो नियन्त्रणको प्रयास गरिएको थियो। आगलागीबाट घरमा भएको केही सामान स्थानीयले तत्कालै निकालेर जोगाउन सफल भएका छन्।
घटनाको जानकारी पाएपछि पर्साबाट आएको बारुण यन्त्र (दमकल)ले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।
वडाध्यक्ष सन्तोष पटेलले आगलागीबाट ठूलो जनधनको क्षति हुन नदिइएको जानकारी दिनुभयो। उहाँले सुरक्षाकर्मी र स्थानीयको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको बताए।
आगलागीको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।


