वीरगञ्ज, वैशाख ९
धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय समता पार्टी नेपालले श्री केदारनाथ र श्री बद्रीनाथ धाम जान लागेका तिर्थयात्रीहरूलाई आज विशेष समारोहका बीच ससम्मान बिदाई गरेको छ।
तीर्थयात्रामा अजय कुमार साह, प्रहलाद चौरसिया, कमलेश स्वर्णकार र लक्षमेश्वर यादव सहभागी भएका छन्। उनीहरूलाई पार्टीले पुष्पगुच्छा, माला र तिलक लगाउँदै भावपूर्ण रूपमा बिदाई गरेको हो।
कार्यक्रममा धार्मिक वातावरण, मन्त्रोच्चारण र श्रद्धालुहरूप्रति शुभकामना व्यक्त गरिएको भए पनि, स्थानिय जनप्रतिनिधिहरूको पूर्ण अनुपस्थितिले कार्यक्रममा उपस्थित धर्मावलम्बीहरूमा खिन्नता छाएको देखियो।
धेरैले भने, “हजजस्ता धार्मिक यात्रामा जनप्रतिनिधिहरूले औपचारिक रूपमा सहभागी भएर बिदाई गर्ने परम्परा रहेको भए पनि, हिन्दू धर्मावलम्बीहरूको यति महत्वपूर्ण तीर्थयात्रामा उनीहरूको चासो नदेखिनु दुर्भाग्यपूर्ण हो।”
कार्यक्रममा सहभागीहरूले धार्मिक सहिष्णुता र समताको अभाव देखिएको बताउँदै, राज्य संयन्त्र तथा जनप्रतिनिधिहरू सबै धर्मप्रति समान व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रिय समता पार्टी नेपालले भने धार्मिक यात्राहरूलाई सामाजिक, सांस्कृतिक र आध्यात्मिक उन्नयनको स्रोत मानी यस्ता कार्यक्रमलाई भविष्यमा अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।


