वीरगंज, वैशाख १०
वीरगंज महानगरपालिका–१३, आदर्शनगरस्थित रानीसती अतिथि सदनमा उपकार सेवा नेपाल, राउण्ड टेबल नेपाल र बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
सामाजिक उत्तरदायित्व र मानव सेवाको सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा दुई महिलासहित २९ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा कामना पौडेल, मुस्कान महेश्वरी, अविनाश गुप्ता, आयुष गुप्ता, सिद्धार्थ अग्रवाल, रवीन्द्र महतो, राजेश यादव, हरिओम कुमार चौहानलगायत सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगंजका पूर्व मेयर विजय कुमार सरावगी थिए भने उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, बलिरामपुर युवा क्लबका शिवम गुप्ता, युवा नेता ओम प्रकाश सरार्फ, राउण्ड टेबल नेपालका अध्यक्ष आयुष अग्रवाल, वीर समसेर कुर्मी तथा समाजसेवी राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन वीरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता, बिबेक यादव लगायतको प्राविधिक टोलीले महत्वपूर्ण भूमिका खेलेका थिए। आयोजक संस्थाहरूले यस्तो सामाजिक अभियानले जनचेतना फैलाउनुका साथै जीवन रक्षाको अभियानलाई टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।


