बिरगंज, जेठ २२
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आजदेखि “ट्राफिक सप्ताह २०८२” विधिवत रूपमा सुरु गरिएको छ। कार्यक्रमको प्रारम्भ घन्टाघर चोकबाट प्रभातफेरीमार्फत भव्य रूपमा गरिएको हो।
सात दिनसम्म सञ्चालन हुने यस जनचेतनामूलक सप्ताहको उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले नेतृत्व गर्नुभयो। प्रभातफेरी घन्टाघरबाट सुरु भई माईस्थान, आदर्शनगर लगायतका मुख्य chowk हरू परिक्रमा गर्दै पुनः घन्टाघरमै समापन भएको थियो। सहभागीहरूले ट्राफिक सचेतनामूलक पम्पलेटहरू वितरण गर्दै सर्वसाधारणलाई सडक सुरक्षाका विषयमा जागरुक बनाउने प्रयास गरेका थिए।
कार्यक्रममा विभिन्न सामुदायिक प्रहरी समूह, स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षक, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विशिष्ट व्यक्तिहरूमा जिल्ला प्रहरी कार्यालय पर्साका किशोर लम्साल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, शस्त्र प्रहरीका एस.पी. राधेश्याम धिमाल, जिल्ला प्रहरी प्रमुख एस.पी. गौतम मिश्रा, जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, समाजसेवी जयप्रकाश खेतान तथा कमल चौगाईं लगायतको उपस्थिति रहेको थियो।
प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताहभरि विद्यालय, समुदाय र सार्वजनिक स्थानहरूमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने छन्। यस अभियानको मुख्य उद्देश्य भनेको आम नागरिकलाई ट्राफिक नियम पालना गराउने, सडक सुरक्षा प्रति सचेत बनाउने र दुर्घटनाको सम्भावना घटाउनु रहेको छ।



