वीरगन्ज, २३ जेठ
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ४ खेस्रहामा आज शुक्रबार बिहान भएको भीषण आगलागीबाट लाखौंको क्षति भएको छ। बिहान करिब पौने ५ बजेतिर विद्युत् सर्ट भई अचानक आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्राप्त जानकारी अनुसार आगलागी रामाशंकर गिरीको फुसको गोठबाट सुरु भएको हो। आगोले गिरीको फुसको गोठ र बसोबासको घर पूर्णरूपमा नष्ट गरेको छ। घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गहना लगायतका सामग्री जलेर नष्ट हुँदा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। आगोमा उनका एक भैंसी र एक पाडो समेत जलेर घाइते भएका छन्।
त्यसैगरी, स्थानीय दरोगा गिरीको फुसको गोठ र घरसमेत आगलागीबाट पूर्ण रूपमा जलेको छ। उनका घरमा रहेको धान, गहुँ, काठ, भाँडाकुँडा र गरगहना नष्ट हुँदा करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।
आगलागी भएपछि दुबै परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन्। घटनापछि प्रहरी, दमकल र स्थानीयवासीहरूको संयुक्त प्रयासमा बिहान साढे ७ बजे आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
स्थानिय बासिन्दाहरूले क्षति बेहोरेका परिवारलाई सहयोग पुर्याउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


