सिर्सिया नदी संरक्षण विषयक अन्तर्क्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न

Spread the love

वीरगञ्ज, पर्सा असार १७

अर्जुन चौधरी 

 सिर्सिया नदीको सरसफाइ तथा संरक्षण सम्बन्धी सरोकारवाला निकायहरूबीचको अन्तर्क्रिया तथा छलफल कार्यक्रम वीरगञ्जस्थित होटल भिस्वामा सम्पन्न भएको छ।

उद्योग विभाग पर्साको आयोजनामा आयोजित कार्यक्रममा सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रण, सरसफाइ, दीर्घकालीन संरक्षण रणनीति र सम्बन्धित निकायहरूको समन्वयबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता उद्योग विभाग पर्साका महानिर्देशक सुशील साहले गरेका थिए। प्रमुख अतिथिको रूपमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सहभागी भएका थिए भने विशिष्ट अतिथिमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका प्रमुख जिल्ला अधिकारी बन्सन्त अधिकारी, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल र उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिको रूपमा उद्योग वाणिज्य संघ बारा अध्यक्ष मोहन शर्मा, ग्रीन सिटी प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका प्रमुख कमल चौगाईलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

उक्त छलफल कार्यक्रममा सिर्सिया नदीको जल गुणस्तर सुधार, फोहोर व्यवस्थापन, नदी किनार संरक्षण र औद्योगिक फोहरको प्रभाव न्युनिकरणका उपायहरूबारे प्राविधिक सुझाव तथा कार्ययोजना तयार गर्ने प्रस्ताव समेत उठाइएको थियो।

कार्यक्रमले स्थायी समाधानका लागि सबै निकायको सहकार्य र स्पष्ट नीति निर्माणको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।

Scroll to Top