वीरगञ्ज, साउन १२
नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा देखिएको आन्दोलन र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका छन्। उनले अस्पतालमा उत्पन्न तनावका कारण चार दिनदेखि बिरामीहरू उपचार सेवाबाट वञ्चित हुनु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै स्थानीय प्रशासनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
झाले नारायणी अस्पतालमा कार्यरत अधिकांश चिकित्सकले असुरक्षाको कारण राजीनामा दिएको र अस्पताल तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका चिकित्सकहरूलाई प्रशासनले वार्ताका नाममा धम्क्याएको आरोप लगाए। उनले यस्तो व्यवहारले आन्दोलन समाधान हुनुको सट्टा झन् चर्किएको दाबी गरे।
झाले संवेदनशील परिस्थितिमा स्थानीय प्रहरी–प्रशासनले संयमता अपनाई चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिलाएर सेवा सञ्चालनको वातावरण बनाउनुपर्नेमा “शासकीय दम्भ” प्रदर्शन गरेको आरोप लगाए। प्रशासनले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उनले बल प्रयोग र दबाबको मानसिकता त्याग्न आग्रह गरे।
उनले उपचारका क्रममा बिरामीको मृत्यु चिकित्सकीय लापरवाहीका कारण भएको हो वा होइन भन्ने विषय निष्पक्ष छानबिनबाट टुंगिनुपर्ने बताए। साथै अस्पताल तोडफोड गर्ने, चिकित्सकमाथि आक्रमण गर्ने तथा सुरक्षाको माग गर्ने चिकित्सकमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ।
झाले पर्साका जिम्मेवार प्रशासकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरूमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्। चिकित्सकको आवरणमा कसैले राजनीतिक स्वार्थ पूरा गर्न खोजेको पाइए त्यस्तामाथि पनि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।
अन्त्यमा उनले सरकारले नारायणी अस्पतालको विवाद यथाशीघ्र समाधान गरी देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। आन्दोलनरत चिकित्सकलाई बिरामीको संवेदनशीलता बुझेर सेवामा फर्किन, घाइते चिकित्सकको उचित उपचार गर्न तथा मृतकका परिवारलाई निष्पक्ष न्यायको प्रत्याभूति दिलाउन पनि उनले सरकारसँग आग्रह गरेका छन्।
