नेपाल पत्रकार महासंघ मधेश प्रदेशलाई जनकपुरमा ४ कट्ठा जग्गा – भवन निर्माणको बाटो खुल्यो

Spread the love

जनकपुरधाम, ४ साउन 

 नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरधाम उपमहानगरपालिका–स्थित श्रीराम मन्दिर गुठीको ४ कट्ठा जग्गा प्राप्त गरेको छ। यस निर्णयसँगै महासंघले अब भवन निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढाउने पत्रकार महासंघ मधेश प्रदेश का अध्यक्ष श्याम बन्जराले जानकारी दिनु भएको छ । प्रमुख सहरको केन्द्रमा रहेको उक्त बहुमूल्य जग्गा पत्रकारिता क्षेत्रको लागि ऐतिहासिक उपलब्धि भएको महासंघले जनाएको छ।

जग्गा प्राप्तिमा देखिएको कठिनाई, विरोध र बाधाका बाबजुद पनि पत्रकार महासंघले पवित्र मनले गरिएको अथक प्रयासको फलस्वरूप यो उपलब्धि हासिल गरेको हो। महासंघले यस क्रममा विरोध गर्नेहरूप्रति समेत धन्यवाद व्यक्त गर्दै, ती आवाजहरूले नै आफूलाई थप सशक्त बनाएको उल्लेख गरेको छ।

मधेश प्रदेशका सञ्चार, कानून तथा गृहमन्त्रीको आलोचनात्मक टिप्पणीलाई महासंघले तत्कालीन रुपमा नकारात्मक भएपनि, जग्गा प्राप्तिको प्रेरक कारकका रुपमा ग्रहण गरिएको जनाएको छ।

यस ऐतिहासिक उपलब्धिमा नेपाल पत्रकार महासंघ केन्द्रले पुर्‍याएको सहयोग, सुझाव र पत्राचारको लागि महासंघले आभार प्रकट गरेको छ। विशेषगरी महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, प्रदेश सल्लाहकार राजेश कर्ण, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, अच्युत पौडेल, प्रेस सेन्टरका गोविन्द देवकोटा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायत धेरैको भूमिका स्मरणीय रहेको बताइएको छ।

भवन निर्माणमा खर्चका विषयमा पनि मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज यादवले कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता जनाएका छन्।

महासंघका उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र क्रान्ति, उपाध्यक्ष ज्योति झा, सचिव हदिश खुदार, कोषाध्यक्ष अनिल गौरव, दिपक गौतिम, कार्यसमितिका सम्पूर्ण सदस्य र योगदान पुर्‍याउने सबै सञ्चारकर्मीहरूको भूमिकाको महासंघले खुलेर प्रशंसा गरेको छ।

महासंघले केन्द्र, प्रदेश तथा जिल्लास्तरीय सञ्चार नेतृत्व, पत्रकार, शुभेच्छुक, संचार संस्थाहरू तथा गुठीसँग जोडिएका सम्पूर्ण कर्मचारीहरूप्रति पनि आभार प्रकट गर्दै, यो सफलता समग्र पत्रकारिता क्षेत्रकै जीत भएको उल्लेख गरेको छ।

Scroll to Top