वीरगञ्ज, ६ साउन
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा हाल पानीको चरम अभाव उत्पन्न भएको अवस्थामा वडाध्यक्ष विजय प्रसाद कुर्मी आफैँ ट्रयाक्टर लिएर टोलटोलमा पानी ओसार्दै जनताको सेवा गर्न तल्लीन छन्।
चर्को गर्मीका बाबजुद वडाध्यक्ष कुर्मीले आफ्नो निजी कम्पनी शान्ति स्टील फर्निचर बाट ट्रयाक्टर र पानीको व्यवस्था गरी स्थानीयवासीलाई राहत दिइरहेका छन्। उनले विगत केही दिनदेखि वडाका विभिन्न टोलहरूमा नियमित रूपमा पानी आपूर्ति गरिरहेका छन्।
“जनताको समस्या मेरो पनि समस्या हो,” वडाध्यक्ष कुर्मीले भने, “सार्वजनिक सेवामा बसेपछि यस्तो समयमा चुप लागेर बस्न सकिन्न, जसरी सकिन्छ त्यस्तै सहयोग गरिरहेको छु।”
स्थानीय बासिन्दाहरूले वडाध्यक्षको यो कार्यलाई अत्यन्तै सराहनीय भनेका छन्। “अध्यक्ष आफै ट्रयाक्टर लिएर आउनु भयो, हामीलाई पानी पु-याउनु भयो, उहाँको यो सेवा देखेर गर्व लाग्यो,” स्थानीय एक वृद्धाले भनिन्।
वीरगञ्जमा बढ्दो गर्मी र बर्सातको अस्थिरताका कारण पछिल्ला दिनहरूमा खानेपानीको समस्या झनै जटिल बन्दै गएको छ। यस्तो बेला स्थानीय जनप्रतिनिधिको सक्रियता जनताको लागि आशाको किरण सावित भएको छ।


