बिरगंज, साउन १३
पर्सा जिल्लाको वीरगञ्जस्थित पावर हाउस चोकबाट एकजना बेवारिसे मानसिक अवस्था कमजोर पुरुषको उद्धार गरिएको छ। मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार दिउँसो १२:४५ बजे अन्दाजी ३५ वर्ष उमेरका, नाम र ठेगाना खुलाउन असमर्थ एक व्यक्तिलाई उद्धार गरी आफ्नो आश्रममा लगेको हो।
आश्रममा पुगी सरसफाइ, नुहाउने, धुने लगायत प्रारम्भिक सेवा प्रदान गरी डाक्टर भरत गोईतको निगरानीमा औषधोपचार सुरु गरिएको छ। उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव तथा स्थानिय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।
मानवसेवा आश्रमले समाजमा बेवारिसे, अशक्त र असहाय अवस्थाका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना कार्य गर्दै आइरहेको छ। यो उद्धार पनि आश्रमको मानव केन्द्रित सेवाभाव र सामाजिक उत्तरदायित्वप्रति समर्पणको उदाहरण बनेको छ।


