३१ भदौ, वीरगञ्ज
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका कारण वीरगञ्ज महानगरपालिकामा करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनमार्फत यो तथ्य सार्वजनिक गरिएको हो।
आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य भवन, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संरचना पूर्णरूपमा नष्ट भएका छन्। कार्यालयभित्रका कागजात, कम्प्युटर र फर्निचर जस्तै सामग्रीहरू जलेर नष्ट भएका छन्। साथै, आन्दोलनकारीहरूले नगरप्रमुख राजेशमान सिंहको निवासमा समेत आगजनी गरेका थिए।
कर्णका अनुसार, वडा र स्वास्थ्य संस्थाहरूमा क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ र पूर्ण तथ्याङ्क आउन बाँकी छ।
बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटलाई संशोधन गरी संरचना पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णयसमेत गरिएको छ। यसका लागि विशेष अधिवेशन बोलाएर बजेट संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ।
नगरपरिषदमा प्रस्तुत प्रतिवेदनले हालको आन्दोलन वास्तविक जेनजी युवाहरूको नभई बाह्य घुसपैठमार्फत आपराधिक समूहले उक्साएको ठहर गरेको छ। कर्णका अनुसार, योजनाबद्ध ढंगले तोडफोड र आगजनी गरिएको प्रमाणहरू फेला परेका छन्।



