उपकार सेवा नेपालद्वारा विजय महतोलाई ह्विलचेयर सहयोग

Spread the love

२८ कार्तिक, वीरगञ्ज

पर्साको जिराभवानी गाउँपालिका–५ सखुनियाका ३८ वर्षीय विजय महतो नुनिया चार वर्षअघि घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर रूपमा घाइते भएपछि पूर्ण शारीरिक रूपमा अपांग बनेका छन्।

 स्पाइनल कोर्ड इन्जुरीका कारण उनी हिँडडुल गर्न नसक्ने अवस्थामा रहँदै ओछ्यानमै बस्न बाध्य भएका हुन्। उनका एक छोरा र एक छोरी छन् भने घर चलाउने जिम्मा श्रीमतीले अरूको घरमा चुल्हा–चौकाको काम गर्दै कष्टपूर्वक सम्हाल्दै आएकी छन्।

उनीहरूको यस दुःखद अवस्थाबारे जानकारी पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले विजयलाई आफ्नै वीरगञ्जस्थित निवासमा बोलाई एउटा ह्विलचेयर प्रदान गरेकी छन्। सरावगीले अपांगता भएका व्यक्तिलाई सहयोग गर्दै आत्मनिर्भर जीवनयापन गर्न सघाउने उद्देश्यले ह्विलचेयर उपलब्ध गराइएको बताइन्।

ह्विलचेयर हस्तान्तरण कार्यक्रममा प्रकाश थारुसहित स्थानीय भद्रभलादमीहरूको समेत उपस्थिति रहेको थियो।

यसअघि पनि उपकार सेवा नेपालले देशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग गर्दै आइरहेको संस्था बताउँदै आएको छ।

Scroll to Top