वीरगञ्ज, १७ माघ
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा जसपालगायत विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्नेहरूमा वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसिया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवीसहितका नेता–कार्यकर्ताहरू रहेका छन्। यस्तै, वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी र निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीले पनि जसपा त्यागेर एमाले रोजेका छन्।
नवप्रवेशीहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेसको मुद्दालाई प्रयोग गर्दै सत्ता केन्द्रित राजनीति मात्र गरेको आरोप लगाए। वर्तमान परिस्थितिमा जनता र देशको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र पार्टी नेकपा (एमाले) भएको दाबी गर्दै आफूहरूले एमाले रोजेको बताए।
वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा देशलाई अस्थिर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै राष्ट्रिय स्वाभिमान र जनताको हितका लागि एमाले प्रवेश गरेको स्पष्ट पारे।
पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री यादवले आफ्नो राजनीतिक हत्या गर्ने प्रयासपछि आफू एमालेमा आएको दाबी गरे। जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाबलाई अन्त्य गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले आफूलाई प्रेरित गरेको उनले बताए।
कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न सङ्गठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


