बीरगञ्ज , माघ २३
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कानुले पर्सागढी नगरपालिका वडा नम्बर–४ मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा अपेक्षाहरू सुनेका थिए। स्थानीयहरूले विशेषगरी रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र आधारभूत सेवा प्रवाहमा सुधारको माग राखेका थिए।
उम्मेदवार कानुले जनताको आवश्यकता र आवाजलाई संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शी, जवाफदेही र विकासमुखी राजनीति आफ्नो प्राथमिकता रहेको बताए। उनले रास्वपाले पुरानो शैलीको राजनीति तोड्दै नयाँ सोच र परिणाममुखी काम गर्ने विश्वास दिलाए।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता सुधीर पटेल कार्यकर्ता तथा समर्थकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीयवासीले उत्साहजनक समर्थन जनाउँदै आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


