वीरगंजमा जसपा परित्याग गर्ने लहर : वडा इकाई अध्यक्ष जोगिन्द्र प्रसाद साहको राजीनामा

Spread the love

वीरगंज, जेठ ४ 

 जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक असन्तोष र अस्थिरताको संकेत देखिँदै गएको छ। पछिल्लो क्रममा वीरगंज महानगरपालिका–१० का वडा इकाई अध्यक्ष जोगिन्द्र प्रसाद साह कानुले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

साहले व्यक्तिगत कारण र पारिवारिक व्यस्तताको कारण देखाउँदै पार्टीको साधारण सदस्यबाटसमेत अलग हुने घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा पत्रमा पार्टीमा बिताएका समयप्रति आभार व्यक्त गर्दै अब सक्रिय राजनीतिबाट केही समय विश्राम लिने निर्णय गरेको उल्लेख गरेका छन्।

“पार्टीमा काम गर्दै गर्दा धेरै अनुभव र सिकाइ भयो। तर अहिलेको पारिवारिक अवस्था र व्यक्तिगत परिस्थितिका कारणले गर्दा पार्टीका जिम्मेवारी वहन गर्न सक्ने स्थितिमा छैन,” राजीनामा पत्रमा साहले उल्लेख गरेका छन्।

साहको राजीनापछि वीरगंज–१० मा जसपाको सांगठनिक संरचना प्रभावित हुने देखिएको छ। पछिल्लो समय वीरगंज क्षेत्रका अन्य नेताहरू र कार्यकर्ताहरू पनि पार्टीबाट असन्तुष्ट हुँदै छुट्टिन थालेका खबरहरू आइरहेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनालाई जसपा वीरगंजमा कमजोर बन्दै गएको संकेतको रूपमा पनि हेरिएको छ। यद्यपि, पार्टीको स्थानीय नेतृत्वले भने यो स्वाभाविक प्रक्रिया भएको र चाँडै नयाँ नेतृत्व चयन गरेर पार्टी पुनर्गठन गर्ने दाबी गरेको छ।

साहको निर्णयले आगामी स्थानीय तहको राजनीतिक समीकरणमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

Scroll to Top