रिमा यादवः पर्सा–२ को समग्र विकासका लागि परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता

Spread the love

वीरगञ्ज । माघ २५

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्साको दिगो विकास र वास्तविक परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा होमिएको स्पष्ट पारेकी छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौँमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आश्वासनको राजनीति होइन, जनताको विश्वास जित्ने व्यवहारिक र परिणाममुखी काम गर्ने समय आएको बताइन्।

यादवले पर्सा–२ का मतदाताले लामो समयदेखि केवल वाचा मात्र सुन्दै आएको उल्लेख गर्दै अब ती वाचालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाइन्। विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा जनविश्वास कमजोर बनेको भन्दै उनले आफ्नो नेतृत्वमा भरोसा पुनःस्थापित हुने गरी काम गर्ने दृढता व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै उनले महिला सशक्तिकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताइन्। मधेशी महिलाहरू शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट अझै पछाडि रहेको उल्लेख गर्दै नेतृत्व विकास, सीपमूलक तालिम र आर्थिक सशक्तिकरणमार्फत महिलालाई आत्मनिर्भर बनाउने नीति अवलम्बन गर्ने जनाइन्। “मधेशी महिलाको सशक्तिकरण बिना समाजको समग्र विकास सम्भव छैन,” उनले भनिन्।

यादवले शिक्षा क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्ने बताउँदै गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार सुधार तथा छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना प्रस्तुत गरिन्। साथै पर्सा–२ मा सडक, खानेपानी, नाला, विद्युत् लगायतका भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, एमाले पर्सा–२ का क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, युवा नेता मुकेश दिवेदी, वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, वडा अध्यक्ष सन्जु छतकुली लगायतले आ–आफ्ना धारणा राखेका थिए। साथै युवा नेता अजय साह, पिन्टु उपाध्याय, प्रधुमन यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमकै क्रममा विभिन्न पार्टी परित्याग गरी सयौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए, जसले कार्यक्रममा थप राजनीतिक उत्साह थपेको थियो।

Scroll to Top