वीरगञ्ज , माघ २६
यतिबेला बारा, पर्सासहित तराई–मधेश क्षेत्र कुहिरो र हुस्सुले ढाकिएको छ । तर मौसमको चिसोपनाभन्दा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी यहाँ बढी देखिन्छ । बाराको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साह भने बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् ।
लगातार जनताको घरदैलोमा पुग्ने क्रमलाई निरन्तरता दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. साह सोमबार बिहानै कलैया उपमहानगरपालिका वडा नं. १८ मंगढवामा पुगे । त्यहाँका मतदातासँग भेटघाट तथा कुराकानी गर्दै उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । मत माग्दै उनले भने, “पेशाले म इन्जिनियर हुँ, तपाईँहरुकै गाउँघरको र तपाईँहरुकै छोरा हुँ । मलाई यसपाली साथ दिनुहोला, म पनि यस ठाउँको विकासका लागि सधैं तपाईँहरुसँगै हुनेछु ।”
घरदैलोका क्रममा उनले ठूला–ठूला र अव्यवहारिक सपना देखाउनेभन्दा पनि जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा केन्द्रित रहने धारणा राख्दै आएका छन् । प्रतिनिधि सभा सदस्यको कार्यक्षेत्रभित्र पर्ने नीतिगत तथा संरचनागत समस्याहरू समाधानका लागि पहल गर्ने, स्थानीय पूर्वाधार सुधार, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण तथा युवालाई रोजगारीका अवसर सिर्जनामा प्राथमिकता दिने उनको भनाइ छ ।
यसअघि पनि साहले क्षेत्र नं. ३ अन्तर्गत जितपुर–सिमरा, कलैया, परवानीपुर लगायत विभिन्न वडामा घरदैलो कार्यक्रम, युवा अन्तरक्रिया तथा समुदायस्तरीय छलफल गर्दै आएका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन गर्ने र त्यही आधारमा नीति निर्माणमा आवाज उठाउने आफ्नो कार्यशैली रहेको उनले बताउने गरेका छन् ।


