वीरगञ्ज , फाल्गुन ४
पर्साका युवा नेता कञ्चन झा लाई नेपाली कांग्रेस को केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनित गरिएको छ। पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै झालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक तथा प्रवक्ता देवराज चालिसे ले झालाई औपचारिक रूपमा मनोनयन पत्र प्रदान गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउने तथा समानुपातिकतर्फको मत वृद्धि गर्ने रणनीतिअनुसार प्रचार–प्रसार अभियानलाई थप प्रभावकारी बनाउन झालाई समितिमा समावेश गरिएको पार्टीले जनाएको छ।
पछिल्लो समय पर्सा जिल्लामा संगठन विस्तार, युवा परिचालन तथा पार्टी गतिविधिमा सक्रिय भूमिका खेल्दै आएका झालाई केन्द्रीय तहको जिम्मेवारी दिनु कांग्रेसभित्र युवा नेतृत्वप्रतिको विश्वासका रूपमा हेरिएको छ।
मनोनयनपछि झाले पार्टीले दिएको जिम्मेवारी इमान्दारी र सक्रियताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत निर्माण गर्न सशक्त र परिणाममुखी प्रचार अभियान सञ्चालन गर्ने बताएका छन्।


