महाशिवरात्रिमा बागेश्वर धाममा नेपाली सहित ३०० गरिब–असहाय कन्याको सामूहिक विवाह सम्पन्न

Spread the love

फाल्गुन ४

महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० गरिब तथा असहाय कन्याहरूको वैदिक विधिअनुसार विवाह सम्पन्न गरिएको शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्।

मन्दिरमा भक्तजनबाट दानपेटीमा संकलित रकम प्रयोग गरी हरेक वर्षजस्तै यस वर्ष पनि गरिब छोरीहरूको विवाह गराइएको हो। कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट भएको पटेलले बताए।

यो कार्यक्रम बागेश्वर धाम सरकारको सामाजिक अभियानअन्तर्गत सञ्चालन हुँदै आएको छ। अभियानअनुसार प्रत्येक मन्दिरको दानपेटीबाट गरिब कन्याको विवाह, भण्डारा सञ्चालन, गुरुकुल व्यवस्थापन तथा क्यान्सर अस्पताल निर्माणजस्ता सामाजिक कार्य अघि बढाइँदै आएको छ।

सामूहिक विवाह कार्यक्रमको यो सातौँ संस्करण हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया सम्पन्न गरिएको थियो। ३० हजार किलोमिटर यात्रा गर्दै ४० सदस्यीय टोलीले दुई महिनासम्म काम गरेर ३०० कन्या छनोट गरेको जनाइएको छ। तीमध्ये १०८ जना आदिवासी समुदायका कन्या रहेका छन्।

बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीले कन्याहरूको धर्मपिताको भूमिका निर्वाह गर्दै विवाहमा आशीर्वादस्वरूप आवश्यक सम्पूर्ण घरायसी सामग्री, सुन–चाँदीका गरगहना तथा प्रति जोडी ३० हजार भारतीय रुपैयाँ प्रदान गरेका छन्। यसरी हालसम्म उनले १६८० कन्याको धर्मपिताको जिम्मेवारी सम्हालिसकेका छन्।

कार्यक्रमअन्तर्गत विवाहअघि कलश यात्रा, मंगल प्रवेश, मेहन्दी तथा हल्दी समारोह आयोजना गरिएको थियो। त्यसपछि बरात स्वागत, जयमाला, हवन, सप्तपदी (फेरे) र कन्यादान विधि सम्पन्न गरिएको आयोजकले जनाएको छ। विवाहपछि नवविवाहित जोडीलाई आशीर्वादसहित विदाइ कार्यक्रम तथा सहभागी सबैका लागि विशाल भण्डारा पनि आयोजना गरिएको थियो।

वैवाहिक समारोहमा ९ देशका राजदूत, विभिन्न देशका साधु–सन्त, कथावाचक, राजनीतिक नेतृत्व, कलाकार तथा हजारौँ भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।

बागेश्वर धाम सरकारले हिन्दुत्व र सनातन धर्मको प्रचार–प्रसारसँगै सामाजिक सेवा अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। साथै सन् २०२७ भित्र गरिब तथा असहायका लागि निःशुल्क उपचार प्रदान गर्ने क्यान्सर अस्पताल निर्माण गर्ने योजना समेत अघि सारिएको छ। मन्दिर परिसरमै निर्माण हुने उक्त अस्पताललाई विश्वकै पहिलो यस्तो अस्पताल हुने दाबी गरिएको छ।

Scroll to Top