बारामा तब्लिगी इस्तेमा: विदेशी सहभागितासँगै बढ्दै सुरक्षा चिन्ता

Spread the love

वीरगञ्ज , वैशाख ९

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुर बलुवामा २०८३ वैशाख ११ देखि १४ गतेसम्म आयोजना हुन लागेको तब्लिगी इस्तेमालाई लिएर सुरक्षा चासो बढेको छ। मुस्लिम समुदायको धार्मिक भेला ‘इस्तेमा’ मा नेपाल र भारतका साथै पाकिस्तान तथा बंगलादेशका नागरिकसमेत सहभागी हुने तयारी देखिएपछि सुरक्षा निकाय सतर्क बनेका छन्।

जानकारहरूका अनुसार पाकिस्तानजस्ता संवेदनशील मुलुकबाट आउने व्यक्तिहरूको विवरण र पूर्वसूचना सुरक्षा निकायसँग अनिवार्य रूपमा हुनुपर्ने आवश्यकता औँल्याइएको छ। पछिल्लो समय भारतमा अवैध आप्रवासनसम्बन्धी बहस चुलिँदै गर्दा खुला सिमानाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गर्न सक्ने जोखिम पनि औँल्याइएको छ।

अरबी भाषामा ‘इस्तेमा’ को अर्थ भेला हुनु हो भने ‘तब्लिग’ को अर्थ धर्म प्रचार–प्रसार हो। विगत केही वर्षयता मधेश क्षेत्रमा साम्प्रदायिक तनाव बढ्दै गएको सन्दर्भमा यस्ता ठूला धार्मिक कार्यक्रमलाई संवेदनशील रूपमा हेरिएको छ। सुरक्षा अधिकारीहरूका अनुसार यस्ता भेलाहरू सिधै हिंसासँग जोडिन्छन् भन्ने निष्कर्ष निकाल्न नसकिने भए पनि समयक्रमको विश्लेषण गर्दा केही घटनापछि तनाव बढेको देखिन्छ।

विशेषगरी २०७६ सालमा सप्तरीको बोदेबरसाइनमा आयोजना गरिएको ‘आलमी तब्लिगी इस्तेमा’ पछि तराई–मधेश क्षेत्रमा साम्प्रदायिक घटनाहरू वृद्धि भएको तथ्य औँल्याइन्छ। सो समयमा करिब २ लाखभन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा विदेशी नागरिकको सहभागितामा कडाइ गरिएको थियो। सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले करिब १,००० सुरक्षाकर्मी परिचालन गर्नुका साथै केही विदेशी नागरिकलाई फर्काइएको थियो।

यसपटकको इस्तेमामा पनि विदेशी सहभागिताको विषयलाई लिएर पारदर्शिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। प्रत्येक वर्ष बंगलादेश र पाकिस्तानबाट साना समूहमा आउने तब्लिगी टोलीहरूले नेपालका विभिन्न क्षेत्रमा धर्म प्रचार गर्ने गरेको दाबी गरिन्छ। तर उनीहरूको गतिविधि र उद्देश्यबारे स्पष्ट जानकारी नहुँदा प्रश्नहरू उठ्ने गरेका छन्।

पछिल्लो साता बंगलादेशबाट ८ सदस्यीय जमात नेपाल आइपुगेको र उनीहरू बाराको इस्तेमामा सहभागी हुने बताइएको छ। भारतबाट पनि विभिन्न धार्मिक अगुवाहरूको नेतृत्वमा समूह आउने तयारी रहेको स्रोतको दाबी छ।

नेपालमा सन् १९८५ मा स्थापना भएको आईएसएन इस्लामी संघ नेपालमार्फत विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। हालै मात्र डा. शमीमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। यसअन्तर्गत ‘शोबये दावत’ नामक शाखाले धर्म प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्छ।

विश्वका केही मुलुकहरू—रूस, इरान, उज्बेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान र साउदी अरेबिया—मा तब्लिगी जमातमाथि प्रतिबन्ध वा निगरानी रहेको उल्लेख गरिन्छ। यद्यपि, यस संगठनले आफूलाई शान्तिपूर्ण धार्मिक अभियानको रूपमा प्रस्तुत गर्दै आएको छ।

स्थानीय प्रशासन र गृह मन्त्रालयले समयमै आवश्यक तयारी नगरेमा सम्भावित सुरक्षा चुनौती बढ्न सक्ने भन्दै विज्ञहरूले सचेत गराएका छन्। त्यसैले कार्यक्रमको व्यवस्थापन, विदेशी सहभागिताको निगरानी र साम्प्रदायिक सद्भाव कायम राख्न विशेष ध्यान दिनुपर्ने देखिएको छ।

Scroll to Top