वीरगन्ज , जेठ ८
वीरगन्ज कपडा बैंकले नियमित मासिक कार्यक्रमअन्तर्गत शुक्रबार वीरगन्जको घण्टाघरमा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ६ सय थान कपडा विपन्न तथा असहाय व्यक्तिहरूलाई वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट निःशुल्क कपडा उपलब्ध गराउँदै आएको जनाएको छ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा सल्लाहकारहरू अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, सरदार जसपाल सिंह, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, BPS +2 कलेजका सञ्चालक दीपक पटेल, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, वीरगन्ज युवा समाजका अध्यक्ष सन्जिव थापा, घण्टाघर प्रहरी पोस्टका प्रमुख असई महेन्द्र कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो।
यसैगरी सञ्चारकर्मीहरू शम्भु महतो थारु, अजित भुजेल, सुरेन्द्र यादव, आकाश पटेल तथा बैंकका सदस्यहरू केदार गुप्ता, संजय मण्डल, नवराज भट्टराई, सन्जु साह, शिव श्रेष्ठ, सुरज श्रीवास्तव, राहुल सिंह राजपुत, कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जोसँग धेरै कपडा छ दिएर जानुस्, नहुने वा आवश्यक पर्नेले निःशुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रका साथ वीरगन्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको बताए। उनले बैंकले कार्यालयमार्फत दैनिक सेवा दिनुका साथै आगलागी, बाढी लगायतका विपद्मा पीडितको घरदैलोमै पुगेर कपडा तथा अन्य सहयोग गर्दै आएको उल्लेख गरे।
उनले सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गर्दै कपडा बैंकलाई सहयोग गर्ने दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा सदस्यहरूप्रति आभार व्यक्त गरे।
त्यस अवसरमा BPS +2 कलेजका सञ्चालक दीपक पटेलले “कोही पनि नाङ्गो नरहोस्” भन्ने उद्देश्यसहित वीरगन्ज कपडा बैंकले सञ्चालन गरेको अभियान अत्यन्त प्रशंसनीय रहेको बताए। उनले आफूलाई समय मिल्दा कार्यक्रममा सहभागी भएर सेवा गर्न पाउँदा खुशी लाग्ने उल्लेख गर्दै बैंकको कार्यलाई सहयोगस्वरूप कलेजको तर्फबाट स्पिकर र माइक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै अध्यक्ष लालबाबु सिंहले बैंकको अभियानमा प्रत्यक्ष सहयोग तथा हौसला प्रदान गर्ने दीपक पटेलसहित सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक तथा सहभागी सदस्यहरूप्रति आभार व्यक्त गरे।



