वीरगन्ज , जेठ १८
प्रधानमन्त्री वालेन्द्र शाहले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति दिएलगत्तै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरी नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको छ।
स्थानीयका अनुसार आइतबार साँझ करिब ४०–५० जना एसएसबी सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्दै सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएका थिए। त्यसपछि हालका लागि निर्माण कार्य स्थगित गरिएको छ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा निकै भित्र नेपाली भूमिमै तटबन्ध निर्माण भइरहेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मी आएर काम रोक्न दबाब दिएको बताए
डुबानको उच्च जोखिममा रहेको सुस्ता क्षेत्रलाई सुरक्षित राख्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँको लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ। अध्यक्ष उपाध्यायका अनुसार तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन गरेपछि पदबाट राजीनामा दिनुअघि उक्त आयोजनाका लागि बजेट विनियोजन गरेका थिए।
घटनापछि सीमावर्ती क्षेत्रमा तनाव बढेको स्थानीयले बताएका छन्। यद्यपि यस विषयमा नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।



