वीरगञ्ज वैशाख १६

गौतम समाज कल्याण संस्थाको पहलमा बिरगंज महानगरपालिका वडा नं. ३१ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको हालै स्थलगत निरीक्षण सम्पन्न भएको छ। निरीक्षणका क्रममा विद्यालयको भौतिक पूर्वाधार अत्यन्तै जर्जर अवस्थामा रहेको पाइएपछि, निरीक्षण टोलीले यथासक्य चाँडो मर्मतसम्भार र सुधार कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


गौतम स्कूलका निर्देशक सोनम लामाको अध्यक्षतामा सम्पन्न उक्त निरीक्षणमा विद्यालयको भित्ताहरूको रंग झरिन थालेको, चर्पीको अवस्था नाजुक रहेको, पानीको निकास व्यवस्था अव्यवस्थित भएको लगायतका समस्या उजागर गरिएको थियो। सहभागीहरूबीच विद्यालयको दीर्घकालीन सुधारका लागि छाना मर्मत, रंगरोगन, नाली निकास, चर्पी निर्माण तथा अन्य प्लम्बिङ कार्यहरू आवश्यक रहेकोमा एकमत देखियो।


निरीक्षण कार्यक्रममा एलाईड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झाले विद्यालयको कमजोर अवस्थाले विद्यार्थीको सिकाइमा प्रतिकूल असर परेको भन्दै छिटो सुधार कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए। श्रीजंग जन सेना बयारेकका प्रतिनिधि जमाल बहादुरले जनशक्तिको आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिए। यस्तै, बिरगंज महानगरपालिकाले समेत सुधार कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।


कार्यक्रममा शिक्षा प्रमुख आनन्द लामिछाने, विद्यालयका प्रधानाध्यापक राजु कुमार माली, वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, एनआई कलेजका निर्देशक मनिष सिंह, सामाजिक अभियन्ता आयुष गिरी लगायतको उपस्थिति रहेको थियो।


सहभागीहरूले विद्यालय सुधार कार्य तत्काल सुरु गरी विद्यार्थीका लागि सुरक्षित, स्वच्छ र प्रेरणादायक सिकाइ वातावरण निर्माण गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षा संस्था सुधारको यस अभियानमा विभिन्न संघसंस्थाहरूको सहकार्य र स्थानिय सहभागिताले विद्यालयको समग्र अवस्था उल्लेखनीय रूपमा सुधार हुने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version