बीरगञ्ज , माघ २४
नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा भव्य रूपमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। शनिबार बिहानै नगवा पुगेका उम्मेदवार यादवको जनता दर्शन कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय मतदाताको सहभागिता रहेको थियो।
घरदैलो तथा जनता दर्शनका क्रममा नगवावासीबाट अपार माया र समर्थन प्राप्त भएको बताउँदै उम्मेदवार यादवले नगवाका मतदाताहरू आफ्नो पक्षमा मजबुत रूपमा उभिएको दाबी गरे। आम जनता तथा मतदाताहरूले आफूलाई जितको आशीर्वाद दिएको उल्लेख गर्दै उनले जनचाहनाअनुसार निरन्तर जनसेवामा सक्रिय रहेकै कारण नगवावासीको विश्वास प्राप्त भएको बताए।
कार्यक्रम सम्पन्न भएपछि नगवा गाउँको अग्रभागमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विगतमा नगवाको विकासका लागि हरसम्भव प्रयास गरेको र आगामी दिनमा पनि विकास, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले युवाहरूलाई कुनै किसिमको असन्तुष्टि भए आफूलाई सिधै फोन वा सन्देश गर्न आग्रह गर्दै सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता दोहोर्याए।
घरदैलो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुशाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव, बादललगायत स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले विपक्षीहरूले प्रचार गरेजस्तो नगवाको अवस्था नरहेको स्पष्ट पार्दै सम्पूर्ण नगवावासी प्रदीप यादवको पक्षमा एकजुट रहेको दाबी गरेका छन्।


