वीरगञ्ज , माघ ६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर २ बाट युवा नेता सुशीलकुमार कानुलाई उम्मेदवार बनाएको छ।
सोमबार अबेर राति जनकपुरमा बसेको पार्टीको उम्मेदवार छनोट समितिको बैठकले पर्सा–२ मा कानुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कानु हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० का निर्वाचित वडाध्यक्ष हुन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
यसैगरी, रास्वपाले पर्साका अन्य क्षेत्रहरूमा पनि उम्मेदवार टुंगो लगाएको छ। पार्टीले पर्सा क्षेत्र नम्बर १ मा जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि पन्त), क्षेत्र नम्बर ३ मा रमाकान्त चौरसिया र क्षेत्र नम्बर ४ मा टेकमान शाक्यलाई उम्मेदवार बनाएको छ।

रास्वपाले पर्साका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार सार्वजनिक गरेसँगै पार्टीको चुनावी तयारी तीव्र बनेको छ।


