वीरगञ्ज। हरिखेतान बहुमुखी कलेज, वीरगञ्जकी छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेकी छन्। साथै उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

अञ्जलीको यो उत्कृष्ट उपलब्धिले हरिखेतान बहुमुखी कलेजसँगै पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठालाई राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याएको छ। उनको सफलतालाई मेहनत, अनुशासन, लगनशीलता र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

हरिखेतान बहुमुखी कलेजका प्रमुख किशोरी रायका अनुसार, त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको हो। उनले यस सफलताको श्रेय कलेजको गुणस्तरीय शैक्षिक वातावरण, दक्ष शिक्षक, विद्यार्थीको निरन्तर मेहनत तथा अभिभावकको सहयोगलाई दिएका छन्।

यसैबीच, हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाउने यस उपलब्धिको सम्मानस्वरूप एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरी अञ्जलीलाई सम्मान गरिने जानकारी दिएका छन्।

अञ्जलीको उपलब्धिप्रति कलेज प्रशासन, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले गर्व व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि अञ्जलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उत्कृष्ट सफलता हासिल गर्दै देश र समाजको नाम उच्च राख्ने विश्वास व्यक्त गरेका छन्।

हरिखेतान बहुमुखी कलेजले हासिल गरेको यो सफलता संस्थाको शैक्षिक उत्कृष्टताको प्रमाणका रूपमा लिइएको छ भने यसले आगामी दिनमा अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply

Exit mobile version