Spread the love

वीरगञ्ज, असार ७ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ।

होटल वृन्दावनमा आयोजित “एसईई टपर्स सम्मान कार्यक्रम–२०८३” मा प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट छात्र तथा छात्राहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछाने सहभागी रहेका थिए। कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, अशोक संग्रौला, अमित आलोक, शर्मानन्द कुशवाहा, प्रकाश उपाध्याय लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शिक्षक तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप उत्साहित र प्रेरित बनाउने विश्वास व्यक्त गरे। उनले मेहनत र लगनशीलताका साथ अध्ययन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै यसले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताए।

प्याब्सन पर्साले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *