बीरगंज , असार २९

बारा जिल्लाको कलैया उपमहानगरपालिका–११, घोघरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ६:३० बजे स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएकी थिइन्। घटनालगत्तै परिवारका सदस्य तथा स्थानीयवासीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्‍याएका थिए।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षणपछि साँझ ७:१० बजे बालिकालाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। साथै घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा एसओसीओ (SOCO) सहितको मुचुल्का टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।

हाल मृतक बालिकाको शव प्रादेशिक अस्पताल, कलैयामा राखिएको छ। घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version